
काठमाण्डू, २६ वैशाख– अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाएपछि विवाद सिर्जना भएको छ । तर हलभित्र साधारण सभा भने जारी छ ।
केहीबेरअघि राखेप अध्यक्ष टंकलाल घिसिङले पानसमा बत्ती बालेर साधारण सभा उदघाटन गरे । साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै आयोजकले थापालाई गेटमै रोक्दा विवाद भएपछि उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । थापा र उनका समर्थकहरु भने भित्र प्रवेश गर्न पाउनुपर्ने माग राखिरहेका छन् ।
थापाको भनाइ छ, ‘कि अदालतको निर्णय मान्दिन भन्नुपर्यो कि साधारण सभामा प्रवेश गर्न दिनुपर्यो ।’ एन्फाका प्रवक्ता सुरेश शाहले भने अदालतबाट आएको फैसलाबारे औपचारिक जानकारी नभएको जिकिर गरे ।
‘यसको प्रक्रिया होला, सचिवालयमा पेपरहरु आउला,’ उनले भने, ‘हामीले के बुझ्न जरुरी छ भने, ‘एन्फाको अहिले केस हेर्नुहुन्छ भने २५–३० केस छन् । कुन सचिवालयमा आयोरआएन भन्ने सबै विषयहरु सचिवालयले मलाई जानकारी गराउने हो ।
त्यो जानकारी पछाडि मैले आधिकारिक हिसाबले बोल्ने हो । तर वास्तविक के छ भन्ने जबसम्म मैले सचिवालयसँग सम्पर्क गर्न सक्दिनँ तबसम्म मलाई पनि थाहा हुँदैन ।’ ‘अदालतको निर्णय मान्ने कि नमान्ने ?’ भन्ने प्रश्नमा उनले ‘अदालतको निर्णय मान्दैनौं’ नभनेको जिकिर गरे ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा०ले थापालाई १६ अप्रिल २०१५ देखि प्रतिबन्ध लगाएपछि उनी निष्कृयजस्तै भएका थिए । १५ अप्रिल २०२५ मा प्रतिबन्ध फुकुवा भएपछि उनी फुटबलका गतिविधिहरुमा पुनः सक्रिय हुन थालेका थिए ।
थापाले भ्रष्टाचार गरेको, घुस लिएको र विभिन्न धाराहरु उल्लंघन गरेको ठहर फिफाको अनुशासन समितिले गरेपछि उनी दश वर्षे प्रतिबन्ध र २१ लाख जरिवानामा परेका थिए ।