
काठमाण्डू, २५ वैशाख– सत्ता घटक दल एमालेका सांसद सुहाङ नेम्वाङले जनताले अनुभव गर्ने प्रकारको विकास खोजेको बताएका छन । आज (बिहिबार) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले योजनाको चर्चामात्रै नभइ उपलब्धिको अनुभूति जनताले चाहेको पनि बताएका छन । उनले भने, ‘जनताले अब ‘सुन्ने’ होइन, ‘अनुभव गर्ने’ विकास खोजेका छन् ।
योजनाको चर्चा हैन, उपलब्धिको अनुभूति चाहेका छन्,’ सांसद नेम्वाङले भनेका छन् । नेम्वाङले सांसदको रुपमा प्रतिनिधिसभामा शपथ लिएको आज एक वर्ष पुगेको छ । सांसदको शपथ लिएको एक वर्षमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिन पाउनुलाई ‘संयोग’ को रुपमा लिँदै नेम्वाङले इलामका जनतालाई स्मरण समेत गरेका छन ।
जनतामा साधरणजस्तो देखिन विभिन्न आकांक्षाहरू पनि अधुरै रहेको भन्दै त्यसतर्फ काम गर्नुपर्ने पनि उनले बताए । उनले भने, ‘अवसरको खोजीमा विदेशिन नपरोस् भन्ने चाहना, खेतीपाती गरेर जिउन सकियोस् भन्ने आशा, छोराछोरीले राम्रो शिक्षा पाऊन् भन्ने इच्छा, र बिरामी पर्दा उपचार पाईयोस् भन्ने विश्वास यी साधारण जस्ता देखिने आकांक्षाहरू आज पनि धेरै नागरिकका लागि अधुरै छन्,’ नेम्वाङले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भने ।
उनले आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको लक्ष्यसहित नीति तथा कार्यक्रम आएको बताउँदै उनले ती मार्गनिर्देशक सिद्धान्तहरू कार्यान्वयनमा ल्याउने प्रयास भएको पनि बताएका छन ।
सरकारले युवाको सशक्तिकरण, सीप विकास, उद्यमशीलता, रोजगारी सिर्जना र नेतृत्वमा लगानी गर्ने प्रतिबद्धता देखाएको उनले बताए । ‘खेलकुद प्रवद्र्धनमार्फत मानसिक र शारीरिक विकासमा समेत योगदान पुर्याउने उद्देश्य प्रशंसनीय छ,’ नेम्वाङले भने ।