
काठमाण्डू, २५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलन अन्त्य नभई राजावादी समूह नफुट्ने बताएका छन ।
आज (बिहीबार) काठमाण्डूमा राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ गतेबाट जनआन्दोलन घोषणा समेत गरेको छ । उक्त घोषणालगत्तै सम्बोधन गर्ने क्रममा लिङ्देनले भनेका छन्, ‘हामीले हाम्रो आन्दोलन भनौंला, यो सिंगो देशवासीको आन्दोलन हो । यो आन्दोलन निष्कर्षमा नपुगि हामी छुट्ने छैनौं ।’
उनले आफूहरूले घोषणा गरेको आन्दोलन कुनै पार्टी र समूहको नभइ सिंगो देशको भएको जिकिर गरेका छन । उनले भने, ‘यो आन्दोलन कुनै पार्टी र समूहको लागि होइन ।
कुनै व्यक्तिको राजनीतिक अभिष्ट पूरा गर्नका लागि होइन । यो देशको भविष्य बनाउनका लागि हो ।’ उनले गणतन्त्रवादीहरूलाई पनि आफूहरूको आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन । उनले भनेका छन, ‘यो ध्रुवीकरणलाई बलियो बनाएर लैजाने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।
आजको दिनसम्म औपचारिक रुपमा राजसंस्था र हिन्दुराष्ट्रको पक्ष मत राख्दै हिँड्ने दल र अन्य सबैलाई पनि यो ध्रुवीकरणमा सामेल हुन आग्रह गर्न चाहन्छु ।’
लिङ्देनले थप भने, ‘यो ध्रुवीकरणमा सामेल हुन अहिलेको कठित गणतन्त्रको पक्षमा रहेका, ०६२-०६३ को परिवर्तनलाई परिवर्तन मान्नेहरूलाई पनि आउन आग्रह गर्न चाहन्छु ।’