
काठमाण्डू, २३ वैशाख– पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । उनको आज (मंगलबार) नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए ।
बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय भएका थिए । उनी नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।
पछिल्लो समय नेकपा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सल्लाहकार रहेका थिए । नेपाली भाषाका साहित्यकार समेत रहेका नेपालले पञ्चायतकालमा सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गरेका थिए ।