सरकारले नीति तथा कार्यक्रममा प्याराडाइम सिफ्ट गरेको छः सांसद भट्टराई

काठमाण्डु टुडे २०८२ वैशाख २३ गते १५:३७ मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले सरकारले नीति तथा कार्यक्रममा प्याराडाइम सिफ्ट गरेको दाबी गरेका छन । आज मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै एमाले सांसद भट्राईले यस्तो बताएका हुन ।

उनले पहिलो कुरा विगतका कतिपय बेलामा नीति तथा कार्यक्रमको बजेटको सिद्धान्तको छलफलको नमिलेको सेड्युललाई वर्तमान सरकारले सच्याएको पनि बताएका छन । उनले खुट्टाले टेक्नुपर्ने टाउकाले टेकेको अवस्था यस पटक सरकारले सच्याएको समेत बताए ।

उनले भने,‘ नीति तथा कार्यक्रम आएको छ, यसमा छलफल हुन्छ, सांसदका भनाई सरकारले सुन्छ र सोही अनुसार सरकारले बजेटमा सम्बोधन गर्छ। नेपाल सरकारले प्याराडाइम सिफ्ट गर्न खोजेको छ। परम्परागत नीति तथा कार्यक्रममा केही हस्तक्षेप गरेको छ। भएजति लेख्ने तर कार्यान्वयन केही नगर्ने कुराबाट सरकारमुक्त हुनुपर्छ।’

विगतका कागजमा कार्यक्रम लेख्ने तर कार्यान्वयन नहुने अवस्थाको अन्त्य गरी आयोजनाहरूको पुनःप्राथमिकिकरण गर्ने भनेर कार्यक्रम आएको उनको भनाई छ । उनले अहिलेको नीति तथा कार्यक्रम व्यवसायी,युवा केन्द्रित र औद्योगिक वातावरण केन्द्रित भएर आएको दाबी गरे । उनले पूर्वाधार विकास र निजी साझेदारी रूपमा काम गर्ने गरी कार्यक्रमले समेटेको बताए ।

उनले नेपालको अहिलेको निजी क्षेत्र बलियो भएर आएकाले आवश्यक वातावरण बने लगानी गर्न सक्ने क्षमता राखेको बताएका छन । उनले युवाहरूलाई प्रमुख प्राथमिकता राखेर ल्याएको कार्यक्रमले थप उत्साहित बनाएको बताए । उनले स्टार्टअप कर्जा कार्यक्रम मात्रै बनाउने नभई कर्जाको थैली अर्थात २५ लाखबाट ५० लाख बनाउनु पर्ने पनि बताएका छन ।

उनले ५० लाख नभए परियोजना वेस स्टार्टअपलाई कर्जा दिने व्यवस्था गर्न आवश्यक रहेको बताए । सांसद भट्टराईले ५० लाख देखि १ करोडसम्म कर्जा दिने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन । उनले जागिरे भन्दा पनि उद्यमी बनाउने किसिमबाट सरकार जान आवश्यक रहेको बताए । उनले कृषि प्रणालीको इकोसिस्टमलाई परिमार्जन गर्ने विषय सकारात्मक रहेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us