
काठमाण्डू, २२ वैशाख– पोर्चुगल सरकारले आम चुनावको ठीकअघि १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने योजना अधि सारेको छ । अधिकारीहरुका अनुसार अनियमित तरिकाले बसोबास गरिरहेका विदेशी नागरिकलाई पोर्चुगलले उनीहरुकै देश फर्काउन लागेको हो ।
पोर्चुगलमा १८ मेमा मध्यावधि निर्वाचनका लागि मतदान हुँदैछ । चुनावी अभियानको क्रममा पोर्चुगलका एक मन्त्री एन्तोनियो लेइतो अमारोले सरकारले करिब १८ हजार विदेशी नागरिकलाई देश छोड्न आदेश दिने बताएको समाचार एजेन्सी एपीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
यसका लागि सूचना जारी गर्ने ती मन्त्रीको भनाइ छ । यो कारबाही आगामी हप्तादेखि सुरु गर्ने तयारी छ । सुरुवातमा ४ हजार ५०० जना विदेशी नागरिकहरुलाई स्वेच्छाले पोर्चुगल छाड्न आदेश दिइनेछ ।
त्यसरी देश छाड्नका लागि उनीहरूलाई २० दिनको मौका दिइने छ । त्यसपछिका चरणमा पनि यो अभियान जारी रहने बताइएको छ ।