
काठमाण्डू, १४ वैशाख– आज (आइतबार) दिउँसो शिक्षकको आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका लागि पुर्याइएको छ ।
रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो ।
त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको हो । लगत्तै सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले उनलाई बोकेरै अस्पतालतर्फ लगेका थिए ।
प्रदर्शनस्थलबाट प्रहरीको गाडी भएको ठाउँसम्म कार्कीलाई प्रहरीले आफैं बोकेर लगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । कार्की प्राइम टेलिभिजनकी पत्रकार हुन् ।