
काठमाण्डू, १० वैशाख–राजावादी आन्दोलनका क्रममा गत १५ चैतमा काठमाण्डूको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन र आगजनीमा संलग्न दुई जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।
पूर्वपञ्च नवराज सुवेदी, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा भएको हिंसात्मक आन्दोलनका क्रममा एक पत्रकार सुरेश रजकसहित दुई जनाको ज्यान गएको थियो । यस्तै व्यक्तिका घर, पसल, नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, जडिबुटी प्रशोधन केन्द्र तथा दर्जनौं सवारी साधनमा आगजनी, लुटपाट र तोडफोड गरिएको थियो ।
प्रहरीले घटनामा संलग्नमाथि कर्तव्य ज्यान मुद्धामा अनुसन्धान अगाडि बढाएको हो ।
प्रहरीका अनुसार, घटनास्थलमा आगो लगाइरहेका दृश्यसहितका भिडियो प्रमाण फेला परेपछि दुई जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको हो ।
रामेछापका २२ वर्षीय सरोज गौतम र अछामका २० वर्षीय गोकर्ण शाहीविरुद्ध कर्तव्य ज्यान मुद्धामा अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ । उनीहरु अनवरत तत्पर फौज (एटीएफ) का कार्यकर्ता हुन् ।
गौतम उक्त संगठनका प्रवक्ता र शाही सदस्य छन् । उनीहरु गत ३१ चैतमा पक्राउ परेका थिए ।
शाहीले माओवादी केन्द्रको पार्टी कार्यालयमा कोटेश्वर पेरिसडाँडा तोडफोड गर्दै गरेको भिडियो प्रहरीले फेला पारेको छ ।
हालसम्म हिंसात्मक प्रदर्शनमा संलग्न ८५ जनामाथि अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।