सामाजिक सञ्जालबारेको विधेयकको विरोध गर्दै रास्वपा भन्योः अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइँदैन

काठमाण्डु टुडे २०८१ माघ १७ गते १६:३४ मा प्रकाशित

काठमाण्डू, १७ माघ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकमा विरोध जनाएको छ ।

आज बिहिबार रास्वपाका कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै उक्त विधेयकमा विरोध जनाएका हुन । कार्यवाहक महामन्त्री बुर्लाकोटीले जारी गरीएको विज्ञप्तिमा भनिएको छ, ‘सर्वसाधारणको सहज पहुँच भएको सामाजिक सञ्जालले वाक् स्वतन्त्रता तथा पारदर्शितालाई आधार स्तम्भ बनाएर सही अर्थमा लोकतन्त्रलाई सबैको पहुँचमा पुर्‍याउन मद्दत गरेको छ ।

आफूलाई मन लागेको कुरा हरेकले भन्न पाउने र भनेको कुरा धेरै माझ पुर्‍याउन मिल्ने सामाजिक सञ्जालको सबैभन्दा दरिलो पक्षलाई नजरअन्दाज गरेर नकारात्मक कुराहरूमा मात्र केन्द्रित हुनु कदापि सही होइन ।’

विज्ञप्तिमा विधेयकका प्रावधानहरू स्पष्ट रूपमा वाक् तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने खालका रहेको भनिएको छ । ‘प्रावधानहरूले आलोचनात्मक अभिव्यक्तिलाई दण्डनीय बनाउने र नागरिक अधिकारमाथि नियन्त्रण लगाउने अलोकतान्त्रिक अभिष्ट प्रकट गरेका छन् ।

संसदीय व्यवस्थामा सङ्ख्यात्मक बहुमतको आडमा नागरिक स्वतन्त्रता संकुचित पार्ने खालका विधेयक पारित गर्न खोज्नु लोकतन्त्रकै भद्दा मजाक हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us