काठमाण्डू, २७ असार– कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी होल्डिङ सेन्टर डुबान भएपछि सुकुमवासीको उठीबास लागेको छ । लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा शुक्रबार राति डुवान भएको थियो ।
बिहानसम्म पनि सेन्टर जलमग्न थियो । अहिले पानी घट्दै गएको छ । पानी कम भएपछि उनीहरुले आफ्ना सामान निकाल्न सुरु गरेका छन । राति डुबानपछि सुरक्षाकर्मीले ५४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको थियो ।
संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा पुर्याएको थियो ।
केही आफन्तकोमा गएका छन् भने अरु सेन्टरकै आसपासमा रहेका छन् । उनीहरुलाई कहाँ लैजाने भन्ने टुंगो लागेको छैन । सेन्टर भएको स्थानमा बस्न मिल्ने अवस्था पनि छैन ।