अनलाइन जुवा खेलाउने दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ माघ १५ गते १२:५२ मा प्रकाशित

काठमाण्डू, १५ माघ– प्रहरीले अनलाइन (जुवा) सट्टावाजी गर्नेरगराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–९ घर भई हाल काठमाण्डू बाफल बस्ने ४८ वर्षीय राज प्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका–१३ घर भई हाल काठमाण्डूको सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेल रहेको प्रहरीले जानकारी दिएको छ ।

बेटिङ एप्लिकेशन मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेम्सहरू अन्तर्गत (Mantra108) नामक वेबसाइट मार्फत जुवा (सट्टावाजी) गर्नेरगराउने गरी रकम संकलन गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने लगायतका गैर कानूनी कार्यहरू भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले हालसम्म २ करोड ४१ हजार ६ सय ३६ रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। साथै प्रहरीले उनीहरूको साथबाट नगद ९० हजार रुपैयाँ, मोबाइल ४ थान, कम्प्यूटर सिपियु १ थान, सिमकार्ड ५९ थान, एटीएम कार्ड २७ थान र चेकबुक ७ थान बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डू पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us