काठमाण्डू, १५ माघ– पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले काठमाण्डू महानगरमा सञ्चालनमा रहेको ‘एटीएम वाटर’ मेयर बालेन्द्र साहले नभएर तत्कालीन मेयर विद्यासुन्दर शाक्यले सञ्चालनमा ल्याएको दाबी गरेका छन ।
आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै एमाले नेता बस्नेतले यस्तो दाबी गरेका हुन । काठमाण्डू महानगरमा बालेन साहले ‘एटीएम वाटर’ सञ्चालनमा ल्याएको भनी भ्रम सिर्जना गरेको भन्दै सो काम विद्यासुन्दर शाक्यले गरेको दाबी गरेका छन । एमाले नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘एटीएम वाटर’ बालेनका पालमा होइन विद्यासुन्दरका पालामा सञ्चालनमा आएको हो ल ! सुजन ढकालजी तपाईंले काठमाण्डू महानगरमा बालेन साहले ‘एटीएम वाटर’ सञ्चालनमा ल्याएर ?
एक मा पानी पिउने व्यवस्था गरेर भनेर भ्रमपूर्ण भिडियो बनाउनु भएछ, तपाईंले बनाएको भिडियोले भ्रम सिर्जना गर्ला भनेर यहाँ तथ्यसहित केही उल्लेख गरिएको छ । एटीएम वाटर सञ्चालनमा ल्याउन मेयर बालेनको शून्य प्रतिशत पनि भूमिका छैन ।’
बस्नेतले ‘एटीएम वाटर’ सञ्चालन गर्न २०७६ साल चैतमा काठमाण्डू महानगरपालिका र काठमाण्डू उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बिच महानगर क्षेत्र भित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको बताएका छन् ।
त्यतिबेला आम मानिसलाई काठमाण्डू महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानहरूमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्नका लागि वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको उनले बताएका छन् ।
उक्त समयमा प्रधानमन्त्री केपी शर्मा ओली रहेको बताउँदै उनले पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भू भगवान पाउमा वाटर एटीएम सञ्चालनमा ल्याएको बताएका छन्।