काठमाण्डू, १४ माघ– कांग्रेसका सांसद दुर्लभ थापाले एमाले र प्रधानमन्त्री केपी ओलीले भक्तपुरको विकास अड्काएको आरोप लगाएका छन् ।
सूर्यविनायक नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उदघाटन कार्यक्रममा मंगलबार थापाले ओलीमाथि विकास अड्काएको आरोप लगाएका हुन् ।
प्रधानमन्त्री ओली सोही कार्यक्रमको प्रमुख अथिति थिए । ‘पछिल्लो समय भक्तपुरमा विकास हरायो । प्रधानमन्त्री यहीं हुनुहुन्छ, विकासको प्रक्रिया कहाँ अड्कियो ?’, थापाले भने, ‘प्रधानमन्त्रीलाई प्रश्न गर्छु, भक्तपुरको विकास तपाईंले कहाँ अड्काउनुभो ?’ ।
सरकारको नेतृत्व गरेको दलले विकास निर्मणको काम रोक्न नमिल्ने उनको भनाइ थियो । काँग्रेस समर्थनमा ओली प्रधानमन्त्री भएको भन्दै थापाले विकासका काम नरोक्न आग्रह गरे । फरक प्रसंगमा उनले आफनै खल्तीको पैसाले विकास गरेको जस्तो गफ नदिन पनि चेतावनी दिए ।
उनको संकेत एमाले नेता महेश बस्नेततर्फ थियो । उनले बस्नेतसँग निर्वाचनमा प्रतिस्पर्धा भए पनि विकास निर्माणका काममा लागि सहकार्यका लागि तत्पर रहेको उल्लेख गरे ।
काँग्रेस भक्तपुर सभापतिसमेत रहेका थापा ०७९ को आमनिर्वाचनमा बस्नेतलाई हराउँदै भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।