काठमाण्डू, १४ माघ– कांग्रेस सांसद राजेन्द्र बजगाईंले मन्त्रीहरुका विषयमा आलोचना गर्न रोक लगाइएकोमा आपत्ति जनाएका छन् ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मंगलबार बसेको संसदीय दल बैठकमा बजगाईंले पार्टी नेतृत्वले गलत गर्ने मन्त्रीबारे बोल्न मुख थुनेको भन्दै आक्रोश पोखे ।
सांसदहरु पार्टी अधिनस्थ नभई जनताका सार्वभौम प्रतिनिधि भएको उनको तर्क थियो । उनले पार्टी सभापति शेरबहादुर देउवाको लोकतान्त्रिक चरित्र र निष्ठामा प्रश्न नगर्ने भन्दै बोल्न रोक लगाइनुको कारण माग गरे ।
प्रधानमन्त्री र मन्त्रीहरु एकपछि अर्को विवाद, भ्रष्टाचार र अनियमितताका काण्डमा मुछिएको आरोप लगाउँदै बजगाईंले सर्वसाधारणबीच बहसमा रहेका ती आरोपबारे सरकारमा रहेकाहरुले जवाफ दिनुपर्ने स्पष्ट गरे ।
बजगाईंले अनुशासनका नाममा पार्टी नेतृत्वले गल्ती गर्दा बोल्न नपाइने अभ्यास कम्युनिष्ट पार्टीमा हुने भन्दै लोकतान्त्रिक पार्टी काँग्रेसमा त्यो मान्य नहुने चेतावनी दिए ।
‘पार्टीभित्रका असहमति र गुनासा भित्रै मात्र राख्नुपर्छ भन्ने कम्युनिष्ट शैली काँग्रेसमा चल्दैन’, बजगाईंले भने, ‘लोकतान्त्रिक पार्टी काँग्रेसमा कम्युनिष्टको जस्तो अनुशासन चल्दैन ।’