काठमाण्डू, १४ माघ– सत्तारुढ कांग्रेसका सांसदहरूले जनतामा व्याप्त निराशा चिर्ने गरी काम गर्न नसकेको भन्दै मन्त्रीहरुको आलोचना गरेका छन् ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मंगलबार बसेको संसदीय दल बैठकमा अधिकांश सांसद मन्त्री र सरकारको काम गराइप्रति बेखुस देखिए ।
दुई तिहाई समर्थन प्राप्त सरकारका मन्त्रीहरुको कार्यक्षमता नदेखिएको उनीहरुको टिप्पणी थियो । सांसदहरुले यो सरकार बनेपछि जनताको निराशा घटेर जानुपर्नेमा थप बढको समेत बताए ।
मन्त्रीहरु सेवा प्रवाहलाई प्रभावकारी बनाउने भन्दा पनि उदघाटन र शिलान्यासमा मात्र व्यस्त रहेको सांसदहरुले गुनासो गरे । बैठकमा १८ सांसदले आफ्ना धारणा राखेको काँग्रेस प्रमुख सचेक श्याम घिमिरले जानकारी दिए । सरकारले हालै ल्याएका अध्ययादेश र मन्त्रीहरूका कामबारे छलफल भएको बताए ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले सांसदहरुले मन्त्रीहरुको कार्यक्षमतामा प्रश्न उठाएको बताए ।
‘मन्त्रीहरूको प्रभावकारिताको विषयमा कुरा उठ्यो’, खतिवडाले भने, ‘मैले पनि मुस्कानसहितको सेवा दिने भन्ने अनि मन्त्री मात्र मुस्कुराउने, सेवाग्राही रुँदै हिड्नुपर्ने अवस्था छ भन्ने कुरा कुरा राखें ।’
सांसदहरूले आफूहरुलाई थाहै नदिई सरकारले संसद छलेर अध्यादेश ल्याएकामा पनि आपत्ति जनाए ।