ओलीको जन्मघर नजिकै दाहालले गरे जनयुद्ध स्मारकको शिलान्यास

काठमाण्डु टुडे २०८१ माघ १४ गते १८:१७ मा प्रकाशित

काठमाण्डू, १४ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीको जन्मस्थान तेह्रथुमको आठराईमा जनयुद्ध तथा शान्ति स्मारकको शिलान्यास गरेका छन् ।

आज मङ्गलवार उपमहासचिव वर्षमान पुनलाई लिएर तेह्रथुम पुगेका प्रचण्डले आठराई गाउँपालिका–३ मा जनयुद्ध शान्ति सङ्ग्रहालयको शिलान्यास तथा सोही स्थानमा निर्मित ह्वाकू बगाले शहीद पार्कको उद्घाटन गरेका हुन् ।

स्मारक निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ विनियोजन गरेको माओवादी तेह्रथुमका नेता रघु गौतमले जानकारी दिएका छन ।

वि.सं ०५८ माघ १४ गतेका दिन उक्त स्थानमा तत्कालीन सुरक्षा फौजले १८ जना माओवादी सेनाका लडाकु र ३ जना स्थानीयको गोली हानी हत्या गरेका थिए । पाँचथरको गोपेटार प्रहरी चौकी आक्रमणमा घाइते भएका लडाकुहरूको उपचार भइरहेको स्थानलाई घेरा हाली सुरक्षाकर्मीले आक्रमण गरेका थिए ।

सो स्थान प्रधानमन्त्री ओलीको गाउँ साबिकको इवा गाविस–२ तथा हालको आठराई गाउँपालिका–४ खानीगाउँ नजिकै अवस्थित रहेको छ । प्रमुख दुई कम्युनिस्ट घटक एमाले र माओवादीबीच सशस्त्र माओवादी युद्धलाई जनयुद्ध वा हिंसात्मक द्वन्द्व भन्ने विषयमा मतभेद जारी रहेका बेला प्रचण्डले ‌ओलीको गाउँमा जनयुद्ध स्मारकको शिलान्यास गरेका हुन् ।

सो क्षेत्रबाट कोशी प्रदेशसभामा माओवादी केन्द्रका दुर्गा चापागाईँ निर्वाचित भएका छन् । केपी ओलीको जन्मघर नजिकै निर्माण हुन लागेको सङ्ग्रहालय ३३ रोपनी क्षेत्रफलमा फैलिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us