सामान्य रुघाखोकी के लागेको थियो, फेसबुकमा आइसियुकै फोटो हालेः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ माघ १४ गते १६:१० मा प्रकाशित

काठमाण्डू, १४ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेको भन्दै भ्रमपूर्ण तस्बिर सार्वजनिक गरिएकोप्रति गुनासो व्यक्त गरेका छन ।

आज (सोमबार) भक्तपुरको सूर्यविनायक नगरपालिकामा नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कार्य प्रति गुनासो व्यक्त गरेका हुन ।

प्रधानमन्त्री ओलीले भने, ‘मलाई सामान्य रुघाखोकी लागेको थियो। एन्टीबायोटिकले शरीर अलि कमजोर बनाएको थियो। तर, हाँच्छ्यू गरेको देख्यो भने आइसियुको फोटो फेसबुकमा आइहाल्छ। खोक्न पाएको छैन, आइसियुमा बसेको देखाउँछन्।’

प्रधानमन्त्री ओलीले यसलाई सरकारको विरोधका नाममा सीमित समूहले फैलाएको भ्रमका रूपमा टिप्पणी गर्दै यस्ता गतिविधिबाट जनता भ्रमित नहुने स्पष्ट पारेका छन । समारोहमा प्रधानमन्त्री ओलीले दुई ठूला दलहरूको सहकार्यमा रहेको वर्तमान सरकार देशलाई स्थिरता र विकासको मार्गमा अघि बढाउन प्रतिबद्ध रहेको बताएका छन ।

उनले सत्ताको खिचातानीमा समय खेर फाल्ने प्रवृत्तिबाट देशलाई मुक्त गराउँदै विकास र स्थायित्वको बलियो आधार तयार गर्ने सरकारको अठोट रहेको उल्लेख गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us