अध्यादेशबाट देश चलाउनु निरंकुश कदम होः कांग्रेस नेता कोइराला

काठमाण्डु टुडे २०८१ माघ ९ गते १२:२९ मा प्रकाशित

काठमाण्डू, ९ माघ– कांग्रेस नेता डा. शेखर कोइरालाले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग भएको बताएका छन । आज (बुधबार) विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस नेता डा. कोइरालाले यस्तो बताएका हुन ।

उनले देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्ने पनि बताएका छन । उनले भने, ‘अध्यादेश के हो भने संविधानमा जुन प्रावधान छ, त्यो एकदम देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्ने हो ।’ संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको बलियो सरकार रहेका बेलामा समेत अध्यादेश ल्याइनु गलत भएको उनको दाबी छ ।

‘कांग्रेस र एमालेको बहुमत छ । बहुमतले पास गर्ने हो नि १ ऐन बनाउन दुई तिहाइ त चाहिँदैन’, नेता कोइरालाको सरकारसँगै असन्तुष्टि छ ।यहींनेर उनले अध्यादेशबाट देश चलाउनु निरंकुशताको वान स्टेप भएको टिप्पणी गरेका हुन् ।

‘अब त १८ गते संसद बोलाइसकियो । त्यो आफ्नो ठाउँमा भयो । तर, अध्यायदेशबाट देश चलाउनु निरंकुशताको वान स्टेप हो भन्ने चिन्ता लाग्छ । त्यो गर्नुहुन्न । त्यो गलत कुरा हो’, नेता कोइरालाको भनाइ छ ।

विषयवस्तु के आयो भन्ने भन्दा पनि कसरी आयो भन्ने विषयले अर्थ राख्ने उनको भनाइ छ । उनी भन्छन्, ‘अहिले अध्यादेश ल्याउनुभयो यसको भित्रको कन्टेन्टहरु खराब त छैन । धेरै अध्यादेशहरु ठीकै छ । राम्रै छ भन्छु म । तर, संसद बोलाएर गर्नुपर्थ्यो नि त ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us