अखिल क्रान्तिकारीको नेतृत्वमा निर्वाचन हुने पक्का

काठमाण्डु टुडे २०८१ माघ ८ गते १८:१० मा प्रकाशित

काठमाण्डू ८ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको भावी नेतृत्वका लागि सहमति जुटाउने गर्ने प्रयास विफल भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार मंगलबार सहमतिबाटै नेतृत्व छनोट गर्नका लागि अध्यक्षका प्रत्यर्थीसहित नेताहरूसँग छलफल भएको थियो ।

तर अध्यक्षमा आकाङ्क्षीहरू आ–आफ्ना अडानमा रहेपछि सहमतिको प्रयास बिफल भएको स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, ‘हामीले सहमतिमै नेतृत्व छनोट गर्ने विषयमा पार्टीको तर्फबाट अध्यक्षका आकाङ्क्षीसँग छलफल गरेका थियौँ । तर सहमति जुटेन । अब जसलाई जुन पदमा मन लाग्छ उसले उम्मेदवारी दिन पाउँछ ।

नेता विशेषसँग जोडेर समूह बनाउनु आवश्यक छैन ।’ यस्तै आजै अध्यक्ष प्रचण्डले विद्यार्थीको विषयमा बनेको कार्यदलका संयोजक शक्ति बस्नेत, अध्यक्षका आकांक्षी, निवर्तमान उपाध्यक्ष लगायत नेताहरूसँग छलफल गरेका थिए । छलफलहरूमा सहमतिको प्रयास असफल भएपछि निर्वाचनबाट नै नेतृत्व छनोट गर्नका लागि आज साँझ ६ बजेसम्म निर्वाचन समितिले समय तोकेको छ ।

माघ १२ गते नेतृत्वको लागि निर्वाचन हुँदैछ । अध्यक्षको दाबेदारमा उपमहासचिवहरू विजय प्रकाश शर्मा सापकोटा, तिर्सना हमाल, योगेन्द्र बुढा, पार्वती नेगी, हेमन्त राई, सुदिन पौडेल र विश्वमणि थापा लगायत रहेका छन् । संशोधित विधान अनुसार आयोजक समितिका पदाधिकारी अध्यक्षका दाबेदार बन्न पाउनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us