प्रचण्डमाथि प्रश्न गरेपछि शंकर पोखरेलमाथि खनियो सञ्जाल

काठमाण्डु टुडे २०८१ माघ ६ गते ८:३३ मा प्रकाशित

काठमाण्डू, ६ माघ– एमाले नेता शंकर पोखरेल राजनीतिक विषयमा सामाजिक सञ्जाल फेसबुकमा छिटो प्रतिक्रया दिने नेतामा पर्छन् ।

जब प्रधानमन्त्री केपी ओली, एमाले र सरकारबारे कसैले प्रश्न उठाउँछ, तब पाखरेल सञ्जालमा जाइलागिहान्छन् । तर, उनकै पेजमा फलोअर्स रहेका ९० प्रतिशतभन्दा बढीले तीखो आलोचना गर्छन्, उनको विचारसँग असहमति जनाउँछन् । तर, पनि पोखरेल रोकिँदैनन् । सायद उनी आफनो पोष्टमा आएका कमेन्टहरु हेर्देनन् । उनकै पोष्टमा कतिपयले कमेन्ट हेर्न समेत सुझाइरहेका हुन्छन् ।

पछिल्लो समय पोखरेलले शनिबार साँझ विपक्षी ७ दलले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको विषयमा आपत्ति जनाउँदै प्मुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन् । विपक्षीले संसद बैठक बोलाउन माग गर्नुलाई उनले ‘घुर्की’ को संज्ञा दिएका छन् । पोखरेलले तत्कालीन प्रधानमन्त्री प्रचण्डले गत वर्ष माघको अन्तिम साता हिउँदे अधिवेशन बोलाएको र अहिले प्रतिपक्षमा रहँदा माघ पहिलो सातामै हिउँदे अधिवेशन नबोलाएकामा ठूलो चिन्ता परेको टिप्पणी गरेका छन् ।

‘प्रचण्डजी आफू प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम सातामा बोलाएको बिर्सनु भएछ कि क्या हो । उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउँदे अधिवेशन नडाकेकोमा ठूलो चिन्ता भएछ । अनि उहाँले प्रतिपक्षमा रहेका दलहरुको बैठक डाकेर विशेष अधिवेशन बोलाउने घुर्की समेत लगाउनुभएछ’, पोखरेलले लेखेका छन्, ‘विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै । तर पनि विपक्षी दलको नेता भएसी घुर्की त लगाउनै पर्यो क्यारे, होइन त ?’ ।
उनको जवाफमा प्रकाश सुवेदी नामका फलोअर्सले लेखेका छन्, ‘हैट १ कामरेडहरुको ढिला संसद कसले बोलाउने कम्पीटेशन चलाउनुभएछ । गर्ने नै यही हो । सरकार जसले सक्छ उसले कब्जा हान्ने को । जनता को बाल ।’

लोकराज शर्मा पोखरेललाई जवाफ फर्काउँछन्, ‘ प्रचण्ड प्रधानमन्त्री हुँदा माघको अन्तिम साता संसद ्डाके होलान्, तथापि संसद छलेर अध्यादेश त ल्याएका थिएनन् होला नि ?
मदन ढकालले ‘अध्यादेशबाट होइन सदन बोलाएर छलफल गरेर आवस्यक विधेयक पास गर्न सजिलो बाटो रोज्नुस भनेको हो’, भनेका छन् । प्रेम अधिकारीले ‘तिमीहरुलाई देश नागरिकको चिन्ता छ ? खाली कुर्सी र सत्ताको लोभ छ । गतिछाडाहरु ।’

‘अरुले जे गरे तै गर्न पर्छ र सुध्रिन सकिँदैन र ?’, अर्जुन सुवेदी पोखरेललाई प्रश्न गर्छन् । बलबहादुर आचार्यले ‘खराब काममा भन्दा असल काममा प्रतिष्पर्धा गर्दा राम्रो होला कमरेड’ भनेका छन् ।

‘दोस्रो पुस्ताका नेता भनिएकाहरुको टिप्पणी यस्तो छ । अनि उदाउदैनन त स्वतन्त्रहरु’, शिव डुम्रे लेख्छन् ।

धन थापामगरले प्रचण्ड सरकार हुँदा ४ सय ५० पर्ने सिमेन्ट अहिले केपी सरकारमा ८ सय ५० कसरी पुग्यो भन्ने प्रश्न गरे । हुसेन मिया लेख्छन्, ‘ तिमिहरुले झैं जथाभावी अध्यादेश ल्याएर बितण्ड मच्चाएका त थिएनन् नि प्रचण्डले । हरूवा गोरुको छेरुवा दाउ जस्तो कुरो नगर ।’

नवराज आचार्यले व्यंग्य गर्दै ‘कमेन्ट हेर्न मज्जा आउँछ’, भनेका छन् ।

खिम राउत भन्छन्, ‘ तिमिलाई जनताले भोट नहाले पनि केपिको ‘गोडा’ मोल्दासम्म नेता बनाइदिएकै छ्न् । अनि यत्ति त लेख्दिन पर्यो नि लाज को पसारो ।’ शिवा घिमिरे आक्रोश पोख्छन्, ‘तिमीहरु अध्यादेश ल्याईराख न के छ र ? सबै मिलेर लुट्ने न हो ।’

प्रकाशदत्त सुवेदीले तर्क गरेका छन्, ‘ प्रचण्ड तपाईंहरुको मार्गनिर्देशक गुरु हुन् र ? प्रचण्डले त्यसो गर्नु पनि बेठीक नै थियो । अनि ओली ले यसो गर्नु पनि बेठीक नै हो । स्वार्थ पूर्तिका लागि जे पनि गर्ने छुट अब तपाईंहरुलाई छैन ।

सन्तोष अधिकारीले ‘कति दम्भ हो यिनीहरुमा अहंकार र घमण्डले उकालो लाइँदैन, हेक्का रहोस्’, भन्ने सुभवा पोखरेललाई दिएका छन् । सुरेश खड्का भन्छन्, ‘शंकर पोखरेल काका नेकपा एमालेभित्रको सबैभन्दा अराजक , छाडा, इज्जत नभएको घोषे नेता लाग्छ ।’

विनोद शाही विमर्शले ‘तपाईं कुनै निर्वचित नेता होइन, केपी ओलीले छ्नोट वाला नेता हो । बढी फाईफुईं बन्द गरौं’, भनेका छन् ।

दिनेश खनाल नेपालीले ‘ खुब के–के न लेखेजस्तो ? चुप लागेर बस्न सकिन्न भन्या ? यत्रो ठूलो भनिएका नेताको ताल यस्तो छ । अनि कार्यकर्ता पीडित नहुन कसरी ? हरेक कुरामा प्रतिक्रिया दिईहाल्नु पर्छ भनेका छन हो, ‘बा’ (केपी ओली) ले ? मति कहिले सुध्रने ? संगठन कहिले मजबुत हुने ? हैट ।’

उद्धव दुलाल भन्छन्, ‘यो हरूवा नेताले जित्नेको संसदको विषयमा पाइँदैन, पहिला जितेर देखाउ तिमी ।’ पोखरेल ०७९ को आमनिर्वाचनमा दाङ–२ बाट माओवादीकी रेखा शर्मासँग पराजित भएका थिए । रमेश सुवेदीले भनेका छन्, ‘अध्यादेश ल्याइदिए भैगाो नि किन चाहियो संसद कल गरेर भत्ता खान ?’ ।

भीम कार्कीले प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गरेर लेखेका छन्, ‘ संसद देख्नेबित्तिकै हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘पार्लियामेन्ट फोबिया’ भइहाल्छ । कित विघटन गर्दिन्छन्, कि त बोलाउन्नन् । बस् अध्यादेशमा रमाउँछन् ।’

कृष्ण काप्रीले ‘ मनमोहनको अल्पमत र ‘बा’ को बहुमत कसले राम्रो काम गर्छ । ९ महिना पुग्न अब ३ महिना बाँकी छ हेर्दै जाउ’, भनेका छन् । यस्ता बुद्धि भष्ट्र भएकाहरु नेता हुँदा कसरी देशको विकास हुन्छ । फलानोले जस्तो गरेको मैले पनि त्त्यही गर्नु पर्छ भन्ने कुण्ठा ग्रसित मानसिकता । बेतुकको सामाजिक सञ्जाल रङ्ग्याउनु भन्दा त्यो समय देशको लागि सोचे हुन्छ नि’, भरत रावल लेख्छन् ।

गणेश शर्मा प्रश्न गर्छन्, ‘प्रचण्डले जति सदनको सामना तिमि भ्रष्ट हरुले गर्छौ ? कुनै सांसद कुनै शब्द बोल्दैमा ३ महिना सदन अवरुद्ध गर्ने एमाले नै होइन ?’ ।

दुर्गा थापाको सुझाव छ, ‘अरुले के गर्यो र के गर्छ भनेर आरोप लगाउने होइन क्या पोखरेल साब । राम्रो कामको अनुसरण गर्ने अनि आफूले राम्रो गर्ने हो ।’ जिबुप्रकाश सुवेदीले ‘तपाइलार्इ नि के को रगरग हो त । चुनाव हार्नेले गाउँतिर संगठन बनाउने हो । संसदतिर दिमाग लगाउने हैन ।’ यज्ञबहादुर केसी ब्यंग्य गर्छन्, ‘स्टाटस लेख्नमै जाने भयो तपाईको राजनीति ।’

डबल सिंहले ‘दुई तिहार्इ बहुमतको सरकार भन्दै धाक लाउनेहरुले ६ महिना बितिसक्दा पनि संसद चलाएर संसदको सामना गर्ने हैसियत नभकाहरुले जे लेख्दा पनि हुन्छ’, भनेका छन् ।

देवेन्द्र न्यौपानेले ‘तिम्रा कुरा जनतामाझ बिक्न छोडिसके नकाराउ त शंकर जी’, भनेका छन् ।

श्रीधर गौतम भन्छन्, ‘चोर बाटो हिंड्न छोड्नुस । मुल बाटो हिंड्नुस् । चोर बाटो दिउँसो हिंडे पनि शंका लाग्छ, राति हिंडे पनि शंका लाग्छ ।’

‘महासचिव ज्यू संसद ज्यूदो र करिबकरिब र्दुइ तिहाई नजिक संसद संख्यामा रहेको प्रधानमन्त्रीले अध्यादेश ल्याउन किन प¥यो ? सरासर सदनबाट विधेयक ल्याए हुने । त्यसको बारेमा छलफल हुने जनता सु–सुचित हुने अवसर पाउने हुन्थ्यो । अध्यादेशको सकरात्मक नकारात्मक कुरामा अहिले चर्चा नगरौं । किनकि सोझो बाटोबाट नआउँदा दालमा कुछ काला भन्ने हुन्छ । नेपालका ठूला दलप्रतिको वितृष्णाले निम्त्याउने अराजकता हो । बेलैमा सचेत बनौं । वितृष्णा यस्तै गतिविधिबाट आउँछ’, अनुप पोखरेलले लेखेका छन् ।

धिरज देवले ‘तिमीरूले पनि त तातो न छारोको माग राखेर संसद अवरुद्ध गरेकै देखेको हो हाम्ले । प्रतिपक्षमा बसेपछि यस्तै हो के’, भन्ने टिप्पणी गरेका छन् ।

भुवन केसीले एआई पयोग गरेर लेख्नुस त कमरेड’, भन्दै पोखरेलको ब्यंग्य गरेका छन् ।

पार्टी कार्यालय बनाउन विवादित व्यवसायी मिनबहादुर गुरुङसँग जग्गा दान लिएको प्रकरणको विरोध गरेको आरोपमा पूर्वउपाध्यक्ष भीम रावलमाथि एमालेले कारबाही गरेपछि पोखरेलले पार्टी अनुसशासन नमान्नेलाई कस्तो कारबाही हुन्छ ? भन्दै एआईसँग सोधेको जवाफ सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

उक्त प्रकरणमा पोखरेल सामाजिक सञ्जाल प्रयोगकर्ताको ‘ट्रोल’ बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us