सिन्धुपाल्चोक–२ का सांसद् हराएको दुलालको गुनासो
काठमाण्डु टुडे
२०८१ माघ ५ गते १९:५० मा प्रकाशित

सिन्धुपाल्चोक, ५ माघ– माओवादी केन्द्रका युवा नेता एवं बागमती प्रदेशसभा सदस्य युवराज दुलालले सिन्धुपाल्चोक–२ का प्रतिनिसभा सदस्य एवं काँग्रेस नेता मोहनबहादुर बस्नेत हराएको टिप्पणी गरेका छन् ।
बाह्रबिसेमा शनिबार आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै उनले निर्वाचन जितेर गएपछि जनताले आफ्नो क्षेत्रमा सांसद भएको महसुस गर्न नपाएको बताए ।
०७९ को प्रतिनिधिसभा निर्वाचनमा आफूले समेत मत दिएर जिताएको सांसद हराएको भन्दै उनले बस्नेतलाई जिताएकामा पछुतो भएको टिप्पणी गरे ।
‘उहाँ मैले पनि भोट दिएर निर्वाचित हुनुभएको सांसद हो’, दुलालले भने, ‘आज उहाँ हराउनुभएको छ । मलाई उहाँलाई भोट दिएर जिताएकामा पछुतो पनि लागेको छ ।’
उक्त निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर चुनाव लडेका थिए ।
फरक प्रसंगमा दुलालले प्रहरीको घेराभित्र बसेर सिन्धुपाल्चोक–१ का माओवादी सांसद माधव सापकोटालाई धम्की दिएको भन्दै बस्नेतप्रति आपत्ति जनाए ।
उनले प्रहरीको बीचमा भाषण गरेर धम्की दिने व्यक्ति एक्लै जनतामा गएर देखाउन चुनौती दिए ।
बस्नेतको आतंक, डर र त्रासको अभिव्यक्तिबाट आफूहरु बिचतिल नहुने उनको भनाइ थियो ।