यौन दुराचार आरोपी एमाले नेता भूमि आयोगको अध्यक्ष

काठमाण्डु टुडे २०८१ माघ ५ गते १४:३९ मा प्रकाशित

काठमाण्डू, ५ माघ– सरकारले जुम्लाको भूमि आयोगको अध्यक्षमा विवादित पृष्ठभूमिका सुरतबहादुर शाहीलाई नियुक्त गरेको छ ।

एमाले नेता शाहीमाथि बालयौन दुराचारको आरोप लागेको थियो । शाहीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले केही दिनअघि आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।

तातोपानी गाउँपालिका–८ का बासिन्दा शाही एमाले जुम्लाका पूर्वउपाध्यक्ष हुन् । भतिजी नाता पर्ने बालिकामाथि करणी प्रयास गरेको आरोपमा शाहीमाथि जिल्ला अदालतमा मुद्धासमेत दायर भए पनि टुंगो लागेको छैन ।

शाही र बालिकाबीच भएको टेलिफोन संवादको अडियो पनि सार्वजनिक भएको छ ।
उक्त अडियोमा शाहीले यौन सम्पर्क गर्न दिए आफूले पठाउने, बेलाबेलामा खर्च पनि दिने आश्वासन नाबालिगलाई दिएको सुनिन्छ ।

यस्तै उनले नांगो फोटो म्यासेन्जरमा पठाउन पनि बालिकालाई पटकपटक दबाब दिएका थिए ।

अडियो बाहिरिएपछि शाही र उनका आफन्तले बालिकालाई ज्यान मार्ने धम्की दिएको पनि त्यतिबेलै सार्वजनिक भएको थियो ।

शाहीविरुद्ध पीडित बालिकाका बुबाले प्रहरीमा जाहेरी दिएका थिए । जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी फरार भए ।

१२ वैशाख ०८१ मा आफैं प्रहरीमा हाजिर भएका शाही ५ दिन हिरासत बसेर छुटे । अभियोगबारे अन्तिम फैसला नभएकाले अदालतले उनको बैंक खातासमेत रोक्का राखेको थियो ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र भएकै कारण राजनीतिक पहुँचका आधारमा शाही कारबाहीको दायारबाहिर रहेको भन्दै जिल्लामा विरोध भइरहेको छ । अध्यक्ष नियुक्त भएपछि उनी जिल्ला नगई काठमाण्डूमै छन् ।

शाहीले आफूमाथि लागेको आरोपको किनारा लागिसकेको र अहिले कुनै मुद्धा नगरेको दाबी गरे । ‘त्यो धेरै पूरानो आरोप हो’, शाहीले भने, ‘किनारा लागिसकेको विषयमा जसरी सञ्चार माध्यममा समाचार आएको छ, त्यो गलत हो ।’

पार्टीभित्र र बाहिरका प्रतिस्पर्धीहरुले आफ्नो प्रगतिबाट डाहा गरेर अनावश्यक प्रचार गरिरहेको जिकिर शाहीको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us