काठमाण्डू, ३ माघ– काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नागरिकताको अधिकार प्राप्त गरिसकेका गैरआवासीय नेपालीलाई निःशुल्क भिसा दिने व्यवस्थासहित अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाएका छन् ।
पार्टीका तर्फबाट सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीसँग बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आयोजित छलफलमा शर्माले अध्यादेशको उक्त प्रावधानमा आफ्नो आपत्ति रहेको बताएका हुन् ।
एक प्रकारको नागरिकता नै पाइसकेका व्यक्तिलाई विमानस्थलबाट भित्र पसेपछि भिसा देखाउ भन्न नमिल्ने तर्क उनको थियो । शर्माले संविधानको भाग–२ धारा (१४) मा गैरआवासीय नेपालीले नागरिकता पाउने व्यवस्था रहेको स्मरण गराए ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशमा गैरआवासीय नेपालीलाई १० वर्षसम्म निःशुल्क भिसा उपलब्ध गराइने उल्लेख छ । शर्माले नागरिकता बाहकलाई किन भिसा चाहियो भन्दै प्रश्न गरेका थिए ।