काठमाण्डू, ३ माघ– काँगेस महामन्त्री गगनकुमार थापाले आफूहरुसँगको सहमतिमै सरकारले अध्यादेश ल्याएको बताएका छन् ।
पार्टीका मन्त्रीहरुसँग सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहीबार बिहान आयोजित छलफलमा थापाले अध्यादेशबारे भ्रममा नपनै आग्रह गरेका थिए ।
मन्त्रीहरु र काँग्रेस शीर्ष नेताहरुको छलफलबाट के थाहा भएको छ भने अध्यादेश ल्याउनुअघि प्रधानमन्त्री केपी ओलीले काँग्रेस मन्त्रीहरुसँग अध्यादेशबारे कुराकानी गरेका थिएनन् । छलफलमा काँग्रेसका १० मन्त्री र २ राज्यमन्त्री सहभागी थिए ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अध्यादेशबारे भ्रममा नपर्न महामन्त्री थापाले मन्त्रीहरुलाई भनेको जानकारी दिए । ‘हामीहरुसँगको सहमतिमै अध्यादेश आएको छ’, थापाको भनाइ उद्धृत गर्दै चौधरीले भने, ‘बाहिरी हल्ला सुनेर भ्रममा पर्न जरुरी छैन ।’
सरकारले गत २६ पुसमा संसदको हिउँदे अधिवेशन छलेर विभिन्न ५ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले चार अध्यादेश त्यसको दुई दिनपछि र विवादास्पद भूमिसम्बन्धी अध्यादेश बुधबार जारी गरेका थिए । सरकारी जग्जा हडपेर बसेका व्यक्तिहरुलाई जग्गाधनी पूर्जा दिने गरी सरकारले अध्यादेश ल्याएको छ ।
आफ्ना कार्यकर्तालाई सरकारी जग्गा बाँड्ने र हदबन्दीभन्दा बढी जग्गा घरजग्गा भूमाफियालाई प्लटिङ गरेर बच्ने दिनेसहितको प्रावधान ल्याएको भन्दै त्यसको चौतर्फी आलोचना भइरहेको छ ।
मन्त्री चौधरीका अनुसार केही मन्त्रीले प्रधानमन्त्री ओलीसँग काम गर्न सहजता नभएको बताएका थिए । मन्त्रालयका काममा प्रधानमन्त्रीबाट देखिने गरी प्रत्यक्ष हस्तक्षेप नभए पनि अप्रत्यक्ष हस्तक्षेप र असहयोग रहेको उनीहरुको गुनासो थियो ।
चौधरीका अनुसार त्यस क्रममा मन्त्रीहरुले वर्तमान सरकार गठनपछिको ६ महिनामा आफूहरुबाट भएका तथा गर्न नसकिएका कामबारे नेतृत्वलाई ब्रिफिङ गरेका थिए ।