देउवाका अगाडि काँग्रेस मन्त्रीले पोखे सरकारबारे निराशा

काठमाण्डु टुडे २०८१ माघ ३ गते ११:४२ मा प्रकाशित

काठमाण्डू, ३ माघ– काँग्रेस र एमाले एमालेका कतिपय नेताले दुई तिहाईको सरकारले मुलुकमा कायापलट गर्ने दाबी गरिरहेका बेला सरकारका एक मन्त्रीले सरकारको अवस्था चित्रित हुने गरी निराशा व्यक्त गरेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरुसँग गरेको बिहीबार बिहान बूढानीलकण्ठस्थित आफ्नै निवासमा गरेको छलफलमा कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारीले जनअपेक्षाअनुसार काम गर्न कठिन रहेको दृष्टान्त सुनाए ।

उनले किसानको मागअनुसार रासायनिक मल खरिदका लागि सरकारसँग पर्याप्त बजेट नभएको यथार्थ बताए । आगामी वर्षका लागि ११ टन रासायनिक मल जरुरी भए पनि त्यसको ५० प्रतिशत अर्थात साढे ५ टन मल मात्र यायात गर्ने रकम सरकारको ढुकुटीमा रहेको मन्त्री अधिकारीले जानकारी दिए ।

मल आयातका लागि ६० अर्ब रुपैयाँ आवश्यक रहेको तर, उक्त शीर्षकमा २७ अर्ब मात्र बजेट रहेको उनको भनाइ थियो । अधिकारीले दूग्ध किसानलाई अझै ४ महिनाको बक्यौता तिर्न बाँकी रहेको पनि उल्लेख गरे ।

‘हिउँदे बाली लगाउने बेलामा मलको अभाव छ । अर्को वर्षका लागि २७ अर्ब पैसाले आधा किसानका लागि पनि मल किन्न नपुग्ने अवस्था छ भन्ने कुरा गम्भीरताका साथ सभापतिसँग राखें’, अधिकारीले काठमाण्डूटुडेसँग भने, ‘भनेजस्तो काम गर्न सकिलो छैन । दूध किसानको ४ महिनाको बक्यौता तिर्न बाँकी नै छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us