काठमाण्डू, ३ माघ– प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी १२ मन्त्रीलाई सामूहिक रुपमा छलफलका लागि बोलाएका छन् ।
केपी ओली नेतृत्वको सरकारमा काँग्रेसबाट १० मन्त्री र दुई राज्यमन्त्री संलग्न छन् । मन्त्रीहरुलाई छलफलका लागि सभापति देउवानिवास बूढानीलकण्ठमा बोलाइएको छ ।
यसअघि सभापति देउवाले गत भदौमा पनि मन्त्रीहरुसँग सामूहिक छलफल गरेका थिए । सरकारका कामलाई थप प्रभावकारी बनाउन छलफलमा बोलाइएको देउवाको निजी सचिवालयले जनाएको छ ।
छलफलमा सभापति देउवाका साथै पार्टीका अरु पदाधिकारी पनि सहभागी हुनेछन् । संसदका प्रमुख दुई घटक काँग्रेस र एमालेबीच गत १७ असारको मध्यरातमा सत्ता गठबन्धन गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।
सोही सहमतिका आधारमा एमाले अध्यक्ष केपी ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
तर, ठूला दल सम्मिलित सरकार बनेको ६ महिना बित्दा पनि सरकारका काम प्रभावकारी नभएको, आर्थिक सूचकांकहरुको अवस्थामा सुधार नभएको, मूल्य वृद्धि बढेको, आर्थिक वर्षको ६ महिनामा १५ प्रतिशत हाराहारी मात्र पुँजीगत खर्च भएको, विप्रेषण आप्रवाह घटेको, व्यापार घाटा चुलिएको, राजश्व संकलनको अवस्था कमजोर रहेको, बैंक तथा वित्तिय संस्थामा तरलता बढेको जस्ता कारण सरकार आलोचित हुँदै आएको छ ।
सत्तारुढ काँगेसकै कतिपय वरिष्ठ नेताहरुले नै सरकारको कामप्रति सार्वजनिक रुपमा असन्तुष्टि जनाउँदै आएका छन् ।