सहकारीपीडितको पक्षमा बहस गर्दा ममाथि अदालत परिसरमै दुर्व्यवहार भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाण्डु टुडे २०८१ माघ २ गते १८:२९ मा प्रकाशित

काठमाण्डू, २ माघ– कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा प्रतिवादी बनाइएका रवि लामिछानेको विपक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अदालत परिसरमै कुटपिट भएको छ ।

पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरुले उनलाई अदालत परिसरमै लछारपछार गरेका हुन् । त्रिपाठीका अनुसार, लामिछाने पक्षका वकिलको बहस सकिएपछि उनले प्रमाण नष्ट हुनसक्ने सम्भावना रहेको भन्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए ।

‘पीडितहरु आवाजविहीन छन्, पीडकहरु शक्ति सम्पन्न छन् । हिजो पनि यो मामलामा प्रमाण मेटाएकै हुन्’, उनले आफूले बहसमा भनेका थिए, ‘शक्तिमा छँदा अनुसन्धान प्रक्रिया रोकिएको थियो, अधिकृतहरु सरुवामा परेका थिए । यस्तोमा भोलि पीडितले न्याय पाउँछन् भन्ने ग्यारेन्टी छैन, थुनामा राख्नुपर्छ ।’

यसपछि इजलासबाट निस्किने वित्तिकै उनलाई सुरुमा युट्युबरहरुले घेरेका थिए । बहसबारे सोधिएपछि आफूले केही बोल्न खोज्ने क्रममा ‘थुनाएर पैसा फिर्ता हुन्छ ?’ भन्दै एउटा हुलले आएर दुर्व्यवहार गरेको त्रिपाठीले बताए । उनले भनेका छन, ‘मैले बोल्दै गर्दा उनीहरुले घेरेर लछारपछार गर्न थाले, भुइँमा लडाइ दिए , ‘मलाई पनि एक दुई घुस्सा लाग्यो । तर, बढी चोट मलाई बचाउन खोज्नलाई लाग्यो ।’

अदालत परिसरभित्रै कानून व्यवसायीमाथि भएको दुर्व्यवहार खेदजनक भएको उनले बताए । अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us