काठमाण्डू, २ माघ– नेकपा एकमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेशमा सत्तारुढ दलको कुनै पनि असहमति नभएको बताएका छन ।
आज बुधबार सिंहदरबारमा अध्यादेशबारे स्पष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले भने, ‘हाम्रो सरकारमा रहेका दलहरूको एकता यसबाट सुदृढ ढंगले प्रस्तुत भएको छ, ‘एउटा अक्षरमा पनि कहिँ कतै असहमति छैन । पूर्ण सहमतिका साथ अध्यादेशहरू आएका छन् ।’
उनले नेपाली कांग्रेसको शीर्ष नेतृत्व, ब्युरोक्रेसीको नेतृत्व, विज्ञहरूको सल्लाह सुझाव, उद्यमीको समस्या सुनेर मात्रै अध्यादेश ल्याइएको पनि बताएका छन ।
धेरै मिहेनत र तयारीका साथ अध्यादेश ल्याइएको दाबी गर्दै उनले भने, ‘जनताका समस्या पनि सम्बोधन गर्छ, सुशासन र विकासलाई पनि अघि बढाउँछ ।’उनले राष्ट्रपतिबाट भूमिसम्बन्धी अध्यादेश रोकिएको भन्ने व्याख्या नमिलेको बताए ।