मुलुकमा उथलपुथलको सम्भावना छ: माधव नेपाल

काठमाण्डु टुडे २०८१ माघ २ गते १५:१० मा प्रकाशित

काठमाण्डू, २ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालल मुलुकमा उथलपुथलको सम्भावना बढ्दै गएको बताएका छन ।

आज (बुधबार) सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै उथलपुथलबाट जोगिन विपक्षी दलहरू एक हुनुपर्ने उनले बताएका छन । आजको बैठकमा सबैभन्दा धेरै समय लिएर नेपालले नै बोलेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन ।

झण्डै दश मिनेट आफ्ना कुरा ब्रिफिङ गरेका उनले बंगलादेश, दक्षिण कोरिया, श्रीलंका लगायतका देशमा देखिएको असन्तुष्टि नेपालमा पनि भित्रभित्रै बढ्दै गएको पनि अध्यक्ष नेपालले बताएका छन । अध्यक्ष नेपालले भनाई उद्धृत गर्दै एक नेताले भने, ‘अन्तर्राष्ट्रिय परिस्थिति र नेपालभित्रकौ परिस्थितिले पनि उथलपुथलको सम्भावना छ ।

असन्तुष्टि भित्रभित्रै चरम रुपमा बढेको छ, ‘यसलाई विपक्षी दलहरू मिलेर राजनीतिक रुपमा सेटल गर्नुपर्छ । अन्यथा अर्को लाइनमा जान सक्छ । मुलुकमा अर्को अप्ठेरो आउनसक्छ ।’

संविधान संशोधन, धार्मिक गतिविधि, शासकीय स्वरुप लगायतका विषयमा गम्भीर हुनुपर्ने भन्दै उनले सबै विषयलाई एउटै डालोमा हालेर मुलुकलाई अर्को ट्रयाकमा लाने प्रयास हुनसक्ने पनि बताएका छन । ‘धेरैवटा विषयलाई एउटै डालोमा हालेर लिने प्रवृत्ति बढेकाले पनि मुलुक अर्को ट्र्याकमा जानसक्छ,’ नेपालले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us