काठमाण्डू, २६ पुस– पोखराको सूर्यदर्शन सहकारी बचत अपचलन कसुरमा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज काठमाण्डु जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले लामिछाने आफैं अदालतमा उपस्थित हुने जानकारी दिए ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको एकल इजलासले लामिछानेलाई बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
बैंक ग्यारेण्टीमार्फत धरौटी बुझाएर लामिछाने बिहीबार राति कास्की प्रहरी हिरासतबाट रिहा भए ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन कसुरमा जिल्ला अदालत काठमाण्डुमा अर्को मुद्धा दर्ता भइसकेकाले उनी अदालतमा उपस्थित हुन लागेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डुले लामिछानेलाई रिहा भएपछि पक्राउ गरी बुझाउन कास्की प्रहरीलाई पत्राचार गरेको भए पनि लामिछाने आफैं उपस्थित हुने सर्तमा परिवार र पार्टी नेताहरुको जिम्मा लगाएर छाडिएको हो ।
प्रहरीले पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा गत २ कात्तिकमा काठमाण्डुबाट पक्राउ गरी सोही रात पोखरा लगिएको थियो ।