
काठमाण्डू, २५ पुस– सत्तारुढ एमाले र काँग्रेसबीचको विवाद उत्कर्षतर्फ उन्मुख भएको छ ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले ०८७ सालमा मात्र संविधान संशोधन हुन सक्ने अभिव्यक्ति दिएपछि दुई दलबीच विवाद बढ्ने संकेत देखिएको हो । केही दिनअघि सम्पन्न पार्टी केन्द्रीय समिति बैठकमा ओलीले ०८७ सालमा मात्र संविधान संशोधन हुन सक्ने परिस्थिति देखिएको बताएका थिए ।
ओलीको उक्त अभिव्यक्तिको काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गृहजिल्ला झापामा आयोजित एक कार्यक्रममा बुधबार प्रतिवाद गरे । उनले ओलीको अभिव्यक्ति काँग्रेस र एमालेबीच वर्तमान सरकार गठनअघि गत १७ असारको मध्यरातमा भएको ७ बुँदे सहमतिको मर्मविपरीत भएको बताए । उनले ओली दुई दलबीचको सहमतिविपरीत ‘ब्याक गियर’ मा हिंड्न खोजेको टिप्पणी शर्माको थियो ।
बिहीबार काँग्रेस नेता अर्जुननरसिंह केसीले पनि ओलीको अभिव्यक्तिको कडा प्रतिवाद गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा शर्माभन्दा अगाड बढेर केसीले ओलीको अभिव्यक्तिले वर्तमान गठबन्धन सरकारको औचित्य समाप्त भएको बताए । केसीले प्रधानमन्त्री ओलीले आफूहरुसँग गरेको सातबुँदे सहमतिको अपमान गरेको टिप्पणी गरे । ‘०८७ साल नभई संविधान संशोधन हुन सक्दैन भन्ने प्रधानमन्त्रीको भनाइले सातबुँदे सहमतिमाथि अपमान भएको छ र यो सरकारको औचित्य पनि समाप्त भएको छ’, केसीले भने ।
यस्तै अर्का नेता एनपी साउदले ओलीको अभिव्यक्तिले वर्तमान सत्ता गठबन्धनको औचित्यमा गम्भीर प्रशन खडा भएको बताएका छन् । उनले ओलीको अभिव्यक्ति दुई दलबीचको सहमतिविपरीत भएको उल्लेख गरे ।
ओलीको अभिव्यक्तिले गठबन्धनको औचित्य तथा सान्दर्भिकताबारे आफूहरुले सोच्नुपर्ने बेला भएको उनको भनाइ थियो । ‘हामीले गठबन्धन गर्दा भएको ७ बुँदे समझदारीमा संविधानमा देखिएका कमजोरीलाई संशोधन गर्ने बुँदा राखेका छौं’, बर्दियामा बिहीबार आयोजित कार्यकर्ता भेटघाटमा साउदले भने, ‘त्यही सहमतिमा प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले नै ०८७ मा संशोधन गर्ने जुन अभिव्यक्ति दिनुभएको छ । यो सरकार गठनका लागि भएको सहमतिविपरीत छ। यसले गठबन्धनको औचित्य र सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक भएको छ ।’
साउदले सरकारको नेतत्वले जनताका समस्या समाधानमा ध्यान नदिएको भन्दै असन्तुष्टि पनि जनाए । उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै काम नगरेको बताए ।
मुलुकमा विद्यमान समस्या समाधान गरी जनअपेक्षाअनुसार सरकार सञ्चालन गर्न काँग्रेस र एमालेबीच सहकार्य भए पनि जनअपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको उनको भनाइ छ ।