काठमाण्डु, २५ पुस– कास्की जिल्ला अदालतले पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामा पठाउन अस्वीकार गरेको छ ।
प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए ।
जिल्ला न्यायाधीश निजित राईको एकल इजलासले बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
सहकारीको रकम अपचलनबारे छानबिन गर्न एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वमा गठित संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा लामिछानेको विभिन्न सहकारीबाट गोर्खा मिडियामा रकम ल्याउन भूमिका नरहे पनि खर्च गर्नमा भने संलग्न रहेको प्रतिवेदन बुझाएको थियो ।
उनलाई प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण आरोपमा अनुसन्धान गर्न गत २ कात्तिकमा काठमाण्डुको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरेर सोही दिन पोखरा लगेको थियो ।