श्रीमानले दुई बच्चाहरू आफ्नो नभएको भनेर शङ्का गरेपछि सल्यानमा श्रीमतीले गरिन दुई छोरीहरूको हत्या

काठमाण्डु टुडे २०८१ पुष २५ गते १३:२७ मा प्रकाशित

काठमाण्डू, २५ पुस– हिजो बुधबार सल्यानको कुपिण्डे नगरपालिका–११ स्थित सिस्नेपातालमा बुधवार बिहान दुई बालिका मृत अवस्थामा भेटिएका थिए । पूर्णिमा रानाकी ३ वर्ष र ६ महिनाका दुई छोरीहरू आफ्नै घरको एक कोठामा मृत फेला परेका हुन् । मृतकहरूको घाँटीमा डाम देखेपछि प्रहरीले पूर्णिमा रानालाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिएर सोधपुछ गर्दा पूर्णिमाले हत्या स्वीकार गरेर सल्यानका डीएसपी केशर न्यौपानेले जानकारी दिएका छन ।

उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा आमाले हत्या स्वीकार गरेकी छन्, थप अनुसन्धान गर्दैछौं ।’ पुस २४ मा बिहान पूर्णिमाले छोरीहरू बिरामी भएको भनेर जेठानीलाई खबर गरिन् । छिमेकीहरू घरमा जम्मा हुँदा दुई जना बच्चाको मृत्यु भैसकेको थियो । त्यसपछि घटना प्रहरीसम्म पुग्यो ।

घटनास्थलमा खटिएका इन्स्पेक्टर नेतृत्वको टोलीले बच्चाको घाँटीमा डाम देखेपछि शङ्का गरे । डीएसपी न्यौपाने भन्छन्, ‘शङ्का लागेर आमालाई नियन्त्रणमा लियौँ ।’ १७ वर्षीया पूर्णिमाले घरको बलोमा सल बाँधेर दुईतिर छोरीहरूलाई झुन्ड्याएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

उनले १४ वर्षको उमेरमा टेकमान रानासँग विवाह गरेकी थिइन् । नुवाकोटमा मजदुरी गर्ने टेकमान घर फर्किँदै छन् । टेकमानको जाहेरी लिएर शव पोस्टमार्टम गरिने डीएसपी न्यौपानेले बताए । श्रीमानले दुई बच्चाहरू आफ्नो नभएको भनेर शङ्का गरेपछि हत्या गरेको पूर्णिमाले अनुसन्धान अधिकृतहरूसँग बताएकी छन् ।

उनले प्रहरीसँग भनेकी छन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ ।’ तर, टेकमान र उनको बिचमा झगडा भएको प्रमाण प्रहरीले फेला पारेको छैन । दसैँ मनाएर नुवाकोट गएका टेकमान बिचमा घर गएका थिएनन् । घटनास्थल जिल्ला सदरमुकामबाट ४ घण्टाको दुरीमा पर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us