काठमाण्डू, २५ पुस– रौतहटमा ११ हजार भेल्टेजको हाई टेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगोलागी भएको छ । आगलागीबाट टिपर पूर्ण रूपमा जलेको छ भने टिपर चालक गम्भीर घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
आज (बिहीबार) बिहान ८ बजेको जिल्लाको वृन्दावन नगरपालिका ४ स्थित क्रसर उद्योगमा लु १ त २८४९ नम्बरको टिपर बालुवा झार्ने क्रममा ११ हजार भोल्ट भएको तारमा छुन पुग्दा करेन्ट लागेर टिपरमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
टिपरका चालक जयप्रकाश सहनी करेन्ट लागेर गम्भीर घाइते भएका छन्। उनको गरुडा स्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिएका छन ।
डीएसपी कार्कीका अनुसार टिपरबाट बालुवा झार्नमाथि उठाएको ट्रली तल नझारी फर्काउने क्रममा माथिको हाइटेन्सन तारमा छोएर दुर्घटना भएको थियो। घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।