काठमाण्डू, २५ पुस– संघीय सांसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् ।
प्रहरीले उनलाई आज बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरेको हो । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाण्डु बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य पनि हुन ।
प्रहरी नियन्त्रणमा रहेका पोखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।
उनीमाथिको घटनामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश पनि दिएको थियो । ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाएका थिए ।