कास्की अदालतमा प्रतिवादीको बयान सकियो

काठमाण्डु टुडे २०८१ पुष २४ गते १५:१८ मा प्रकाशित

काठमाण्डू, २४ पुस– जिल्ला अदालत कास्कीमा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो ।

अब जाहेरवालाको तर्फबाट केहीबेरमा बहस सुरु हुने अदालत स्रोतले जानकारी दिएको छ । आज प्रतिवादीका तर्फबाटरामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए । प्रतिवादीहरूको बयान सकिएलगत्तै पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो । न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी,लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us