काठमाण्डू, २३ पुस– पूर्व मन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन । आज (मंगलबार) काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन । उनले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाएको पनि बताए ।
उनले संविधान निर्माणपछि केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको र मुलुक स्वाभाविक लयमा लोकतान्त्रिक अभ्यासमा रहेको पनि बताएका छन । मुलुकमा यावत समस्याहरू रहेको बताउँदै क्रान्तिले जगाएको अपेक्षा र अहिले नागरिकलाई दिइएको सुविधाका बिचमा ठुलो खाडल रहेको जिकिर गरे । उनले भने, ‘हामी संविधानको १० औँ वर्षमा प्रवेश गरेका छौँ ।
यस बिचमा केही महत्त्वपूर्ण उपलब्धिहरू भएका छन् । मुलुक स्वाभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको छ । हामीले दुई दुई पटक प्रतिनिधि सभा, प्रदेश सभाको चुनाव गरेका छौँ । उनीहरूले कति डेलिभरी गरेका छन्, बेग्लै कुरा होला । तर लोकतान्त्रिक अभ्यास स्मुथली रन गरिरहेको छ । धेरै कुराहरू भएका छन् । त्यसकै जगमा उभिएर हामीले समीक्षा गर्ने भनेका हौँ ।
मुलुकमा यावत समस्याहरू छन् । क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीबिचमा ठुलो ग्याप छ ।’ उनले थपे, ‘हामी समाधान कहाँ खोजिरहेका छौँ भने संविधानबाटै सबै कुराको समाधान होस् भनेर सबै कुरा संविधान संशोधनमार्फत अहिलेका समस्याहरूको सम्बोधन गर्न खोजिरहेका जस्ता तर्कहरू पनि हामीले सुन्छौँ । त्यो गलत हो भन्ने मलाई लाग्छ । कति संविधानका अन्तर्निहित कमजोरीका कारणले आजको समस्या आएको छ ।
कति संविधानभित्र अभ्यास गर्ने हामी पात्रहरू, संस्थाहरू र हाम्रा प्रवृत्तिहरूले काम गरेको छ । सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्नतिर लाग्ने तरिकाले हामी कहीँ पुग्दैनौँ । संविधान संशोधन सबै चिजको समाधान हुन सक्दैन ।’