वाइडबडीबारे संसदीय छानबिन समिति बनाउन रास्वपाको माग

काठमाण्डु टुडे २०८१ पुष २३ गते १३:५९ मा प्रकाशित

काठमाण्डू, २३ पुस– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाइडबडी जहाजमा भएको भनिएको अनियमितताबारे संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।

आज (मंगलबार) प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै रास्वपा सांसद शिशिर खनालले यस्तो माग गरेका हुन् । उनले भने, ‘वाइडबडीको भ्रष्टाचारको विषय फेरि उठेको छ ।

नेपाली मुलका बेलायती नागरिकले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको स्वीकार गरेका छन्, ‘यता नेपालमा अख्तियारले मुद्दा दायर गरेको र विशेष अदालतले फैसला दिइसकेको तर अदालतले अख्तियारको पदाधिकारी तथा छानबिनमाथि नै प्रश्न उठाएको छ ।’

उक्त विषय स्मरण गराउँदै सांसद खनालले संसदीय समितिले छानबिन समिति बनाएर स्वतन्त्र रुपमा हेर्नुपर्ने माग गरे । ‘जुन निकायले छानबिन गर्नुपर्ने हो त्यसमाथि विशेष अदालतले प्रश्न उठाएकाले स्वतन्त्र छानबिनमा प्रश्न उठ्यो,’ उनले भने, ‘त्यसैले सभापतिज्यू एउटा छानबिन समिति बनाऔं । पछिल्लो समय उठेका विषय नजिकबाट हेरौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us