भूकम्पको धक्काः काठमाण्डूमा एक जना छतबाट हाम फाले, बारामा ११ जना विद्यार्थी बेहोस

काठमाण्डु टुडे २०८१ पुष २३ गते १२:२१ मा प्रकाशित

काठमाण्डू, २३ पुस– काठमाण्डुमा आज मंगलबार बिहान गएको भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका छन् । स्युचाटार निवासी ती व्यक्ति छतबाट हाम फालेपछि घाइते भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

उनको मनमोहन अस्पतालमा उपचार जारी छ । प्रहरीले उनको परिचय भने सार्वजनिक गरेको छैन । आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

सो भूकम्पको धक्का नेपालका कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो । काठमाण्डुबासी आत्तिएर घरबाहिर निस्किएका थिए । प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका छन् ।

उपचारपछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भई डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन र रामेछापमा एउटा गोठमा क्षति पुगेको छ । ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा पनि क्षति पुगेको नेपाल प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us