भूकम्पपछि राष्ट्रपति सीलाई जाडोको चिन्ता, तत्काल उद्धारमा खट्न निर्देशन

काठमाण्डु टुडे २०८१ पुष २३ गते १२:१४ मा प्रकाशित

काठमाण्डू, २३ पुस– आज मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन् । भूकम्पबाट ज्यान जानेको संख्या ५३ पुगेको तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जानकारी दिएको हो ।

यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् ।

उनले सम्भावित प्रकोप रोक्न, प्रभावित मानिसहरूलाई उचित रूपमा पुनर्स्थापना गर्न र उद्धार पछिको कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देश गरेका छन्। भूकम्प अनुगमन र प्रारम्भिक चेतावनीलाई सुदृढ गर्न, आपतकालीन उद्धार सामग्रीको तुरुन्तै व्यवस्था गर्न, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्यलाई तीव्रता दिन अपिल गरेका छन् ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us