राजनीतिक संरक्षणका कारण प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका कांग्रेस सांसद माया राईलाई उन्मुक्ति

काठमाण्डु टुडे २०८१ पुष २२ गते १३:४४ मा प्रकाशित

काठमाण्डु, २२ पुस– कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएका कांग्रेस सांसदलाई जिल्ला सरकारी वकिल कार्यालयबाट उन्मुक्ति दिइएको छ ।

दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाण्डुले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद माया राई समेतका व्यक्तिलाई मुद्दा चलाउन सिफारिस गरेको थियो । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा जिल्ला अदालत काठमाण्डुबाट पक्राउ पुर्जी समेत जारी भएको थियो ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा समेत कार्यरत थिइन् । पक्राउ पुर्जी जारी भएकी र प्रहरी अनुसन्धानको क्रममा समेत प्रत्यक्ष संलग्नता देखिएकी राईलाई भने उन्मुक्ति दिइएको छ ।

राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै आइतबार ३९ जनाविरुद्ध काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । तर सञ्चालक समितिमै रहकी राईलाई भने उन्मुक्ति दिएर अन्यलाई मुद्दा चलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us