माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने

काठमाण्डु टुडे २०८१ पुष २२ गते १३:१० मा प्रकाशित

काठमाण्डु, २२ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आर्थिक पारदर्शिता अन्तर्गत केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना पार्टीमा प्रस्तुत गरेका हुन् । पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा यससम्बन्धी व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनेछ ।’साथै, प्रत्येक वर्ष पार्टी केन्द्रीय समितिका सदस्यहरूले सम्पत्ति विवरण अद्यावधिक गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने प्रस्ताव पनि कार्ययोजनामा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us