काठमाण्डु, २२ पुस– सेनिटरी प्याडमा लुकाएर सुन तस्करी भएको पाइएको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा महिलाले लगाउने सेनिटरी प्याडमा लुकाएर सुन तस्करी भएको पाइएको छ ।
प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाण्डुको टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाण्डु गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भनिने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ घर भइ काठमाण्डु महानगरपालिका–६ बस्ने २२ वर्षीया लालबहादुर तामाङलाई सुन तस्करीको आरोपमा पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
१४ पुसको आइतबार दिउँसो साढे २ बजे फ्लाई दुबईको उडानमार्फत एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी थिइन् । पछि ती महिलाले दुबईबाट सुन ल्याएको र उक्त सुन लुटिएको सूचना प्रहरीले पायो । सुन लुटिएको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीसँग मिलेर अनुसन्धान अघि बढाएको थियो ।
सो क्रममा तीन जनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उक्त सुन नाम परिवर्तित ‘भक्तपुर क’ महिलाले आफूले प्याड लगाएर त्यसमा लुकाएर ल्याएको खुलेको एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन । ती अधिकृतका अनुसार सुनलाई गालेर लिक्विड बनाएर प्याडमा लेपन लगाएर ल्याइएको थियो ।
अवैध रूपमा सुन ल्याएको सूचना पाएपछि लुटिएको खुलेको छ । लुटिएको झण्डै आधा किलो ४३६.१० ग्राम सुन समेत प्रहरीले बरामद गरेको छ ।
लुटेराहरूबाट प्रहरीले ३ थान मोबाइल र मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिएका छन ।