प्रधानमन्त्री ओलीको स्वीकारोक्तिः सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन

काठमाण्डु टुडे २०८१ पुष २१ गते २०:४३ मा प्रकाशित

काठमाण्डु, २१ पुस– प्रधानमन्त्री केपी ओलीले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् ।

एमाले अध्यक्षसमेत रहेका ओलीले आइतबारबाट सुरु पार्टी केन्द्रीय समितिको आठौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सरकारको काम प्रभावकारी र पर्याप्त नभएको उल्लेख गरेका हुन् ।

यद्यपि सरकारले केही नयाँ र सकारात्मक काम गरिरहेको दाबी उनको छ । ‘नयाँ सरकारका कामहरू सकारात्मक छन्, तर पर्याप्त भने छैनन्’, उनले भनेका छन् ।
प्रमुख दुई दलको साझेदारी र अन्य दलहरू समेतको सहभागितामा बनेको शक्तिशाली सरकारबाट जनताले अझ तीव्र विकास, परिवर्तन र डेलिभरीको अपेक्षा गरिरहेको ओलीको भनाइ छ ।

ओलीले प्रतिवेदनमा जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछिको पुनर्निर्माण तथा गत असोजको बाढी पहिरोबाट विस्थापितको पुनःस्थापना हुन नसक्नु सोचनीय विषय भएको बताए । ‘एक वर्ष बितिसक्दा पनि जाजरकोट र पश्चिम रुकुममा पुनर्निर्माणको थालनी नहुनु र असोज दोस्रो साताको बाढीबाट पीडितहरूको पुनस्स्थापनामा ढिलाइ हुनु सोचनीय विषय हो’, ओलीले प्रतिवेदनमा लेखेका छन् ।

किसानले उत्पादित वस्तुहरूको उचित बजार र उचित मूल्य नपाउने पहिल्यैदेखिको समस्या समाधान हुन नसकेको, विकास निर्माणमा अपेक्षित गति नआएको, सरकारी सेवा प्रवाह, लगानी र व्यावसायिक वातावरणमा अपेक्षित सुधार नआउनुले सरकारसामु चुनौती खडा भएको ओलीले बताए । उनले त्यस दिशामा अपेक्षित परिणाम दिनै पर्ने पनि औंल्याएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us