ओली र प्रचण्डमाथि बाबुरामको टिप्पणीः कुर्सीमै बसेर स्वर्गारोहण गर्न लालायित !

काठमाण्डु टुडे २०८१ पुष २१ गते २०:१५ मा प्रकाशित

काठमाण्डु, २१ पुस– नेपाल समावदाी पार्टी (नयाँ शक्ति) का संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीसमेत रहेका एमाले

अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुर्सीमा बसेर स्वर्गारोहण गर्न लालायित रहेको आरोप लगाएका छन् ।

दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादीको केन्द्रीय समिति बैठक सुरु भएकै दिन भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राखेका हुन् ।

दुई पार्र्टीको बैठक एकै दिन सुरु हुनुलाई उनले आकस्मिकता मात्र हुन सक्ने बताए । बैठकका दस्तावेज र निर्णयहरू बाहिर आएपछि मात्रै उनीहरूबीचको समानता असमानता र आगामी दिशा बढी प्रष्ट हुने भट्टराईको भनाइ छ ।

भट्टराईले एमाले र माओवादीले अर्कालाई पूरै अशुद्ध र आफूलाई २४ क्यारेटको शुद्ध कम्युनिष्ट प्रमाणित गर्न न्वारानदेखिको बल लगाउने तथा दुवै ठूला नेताका बफादारहरूले शब्दकोशमा भएका सबै शब्द छानीछानी आफ्नो सर्वोच्च नेताको देवत्वकरण र अर्कोको दानवीकरण गर्ने भन्दै ब्यङ्ग्य गरे ।

दुवै पार्टीको बैठकमा नेताहरू किन कुर्सीमै बसेर स्वर्गारोहण गर्न लालायित हुन्छन् भन्ने प्रश्नको जवाफ नखोजिने उनले उल्लेख गरेका छन् । भट्टराईले दुवै बैठकमा ३० वर्ष पहिले विश्वका १६ देशमा कम्युनिष्ट पार्टीको एकल शासन भएकामा हाल किन ५ देशमा मात्र सीमित भए तथा संसदीय चुनावबाट सरकारमा पुगेका छिमेकी भारतका तीन प्रदेशमध्ये किन अब एउटा मात्र बाँकी छ ? भन्ने प्रश्नको जवाफ खोज्न एमाले र माओवादीका नेताहरुलाई सुझाव पनि दिएका छन् ।

‘किन सत्तामा पुगेपछि आफुलाई सर्वहारावर्गको नेता भन्नेहरू उल्टै नयाँ नोकरशाही पुँजीपति वर्गमा रूपान्तरित हुन्छन् र कुर्सीमै बसेर स्वर्गारोहण गर्न लालायित हुन्छन् ? आदि गम्भीर प्रश्नहरूबारे खासै बहस छलफल हुनेछैन’, भट्टराईले लेखेका छन् ।

नेपालको विशिष्ट भू-राजनीतिक अवस्था, अत्यन्त पिछडिएको आर्थिक/सामाजिक संरचना, लामो समयसम्मको निरंकुश राजतन्त्रात्मक शासनप्रणाली आदिको सन्दर्भमा हिजो पूँजीवादी लोकतान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका निर्वाह गरेकाले नेपालमा कम्युनिष्ट’ ब्राण्ड स्थापित र पपुलर भएको निस्कर्ष उनको छ ।

२१औं शताब्दीको नयाँ युगको नयाँ कार्यभार पुरानै कम्युनिष्ट भाष्य, नीति, कार्यक्रम, संगठन, नेतृत्व, शैलीबाट पूरा गर्न सम्भव नभएको भन्दै उनी अगाडि लेख्छन्, ‘बेलैमा आफूलाई आमूल रूपान्तरण नगरे पुरानै ‘कम्युनिष्ट’ ब्राण्ड अब क्रमशः क्षयीकरण हुँदै जाने मात्र हो । चीनलगायत हिजो पूर्ण जनक्रान्तिबाट एकल सत्तामा पुगेकाहरूको सन्दर्भ अर्कै हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us