नन्दबहादुर पुन माओवादी उपाध्यक्ष !

काठमाण्डु टुडे २०८१ पुष २१ गते १९:४८ मा प्रकाशित

काठमाण्डु, २१ पुस– पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई माओवादी केन्द्रले उपाध्यक्ष सरहको हैसियत प्रदान गरेको छ ।

आइतबारबाट सुरु माओवादी केन्द्रीय समिति बैठकमा पुन अध्यक्ष, उपाध्यक्ष र महासचिवको लहरमा देखिएका छन् । यद्यपि उनलाई कुन जिम्मेवारी दिने भन्ने औपचारिक निर्णय हुन बाँकी छ ।

तर, पुन बसेको आसन अगाडि उपाध्यक्ष लेखिएको नाम प्लेट राखएको थियो । तस्बिरमा प्रचण्डको देव्रेतिर उपाध्यक्ष कृष्णबहादुर महरा र त्यसपछि पुन देखिएका छन् । हाल माओवादीमा नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष तथा महरा, पम्फा भुसाल र अग्नि सापकोटा उपाध्यक्ष छन् ।
यसअघि पदाधिकारी र स्थायी समिति बैठकमा भने पुन मञ्चभन्दा तलै बसेका थिए ।

उपराष्ट्रपति हुनुअघि पुनको बरियता हालका उपमहासचिवहरु हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणि पोखरेलभन्दा तल थियो ।

सात वर्ष उपराष्ट्रपति भएर सामान्य जीवनमा फर्किएका पुन दुई वर्षसम्म देखिने गरी राजनीतिक गतिविधिमा सक्रिय थिएनन् । पछिल्लो समय भने पुनेले आफूलाई पार्टीमा भूमिका दिन लबिङ गर्दै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us