छिमेकीको घर गएकी वृद्धाको ग्यास चुहिएर आगलागी हुँदा मृत्यु

काठमाण्डु टुडे २०८१ पुष २१ गते १९:२६ मा प्रकाशित

पर्वत, २१ पुस– पर्वतको कुश्मा नगरपालिका– १० पिपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक वृद्धाको  मृत्यु भएको छ ।

तल्लो रोहोटेका ध्रुरव रेग्मीको घरमा आइतबार बिहान ग्यास चुहिएर आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो ।

मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा पुगेकी थिइन् । घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएको पर्वत प्रहरीका डिएसपी रविन विष्टले बताए ।

उनकाअनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ । आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट घरमा क्षति पुगेको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए ।

मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएका प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us