एमाले केन्द्रीय कमिटीमा उठ्यो भीम रावलसहित तीन नेतामाथिको कारबाही फिर्ताको माग

काठमाण्डु टुडे २०८१ पुष २१ गते १९:०९ मा प्रकाशित

काठमाण्डु, २१ पुस– एमाले केन्द्रीय कमिटी बैठकमा तीन नेतामाथि गरिएको कारबाही फिर्ता हुनुपर्ने आवाज उठेको छ ।

आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय समिति बैठकमा नेताहरुले कारबाही फिर्ताको माग गरेका हुन् ।

विवादास्पद व्यवसायी मिनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन ११ रोपनी जग्गा दान लिने पार्टी नेतृत्वको कदमविरुद्ध बोेलेका पूर्वउपाध्यक्ष भीम रावल, स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथि एमालेले गत १० मंसिरको स्थायी समिति बैठकबाट कारबाही गरेको थियो ।

रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ भने पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको छ ।
बैठकमा सदस्यहरुले धारणा राख्नुअघि नै रावल, पाण्डे र तिम्सिनामाथिको कारबाही अनुमोदन गराइएको थियो । केन्द्रीय सदस्ययहरु झपट रावल र प्रकाश शाहले तीन नेतामाथिको कारबाहीमा पुनर्विचार गर्न माग गरे ।

अध्यक्ष केपी ओलीले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा रावल र शाहले कारबाही गलत भएकाले फिर्ता हुनुपर्ने माग राखे ।

रावलले तीन नेतामाथिको कारबाहीलाई नेतृत्वको निरंकुश र तानाशाही कार्यशैलीको संज्ञा दिए । शाहले पार्टीमा नेताहरुको चाकडी गर्नेलाई खाका र नगर्नेलाई पाखा गर्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको चर्को आलोचना गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us