काठमाण्डु, २१ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशीले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीका कागजात किर्ते गरेको आरोप लगाएका छन ।
स्वर्णलक्ष्मी सहकारीमा भएको अपचलनको अनुसन्धानका क्रममा बयान दिँदै उनले आफू अमेरिका पुगेका बेलामा कम्पनीका अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछानेले आफ्नो हस्ताक्षर किर्ते गरेको बताएका छन ।
उनको बयानअनुसार, गोर्खा मिडियाको पूँजी ५ करोडबाट १२ करोड पुर्याउने क्रममा गोर्खा मिडियाका सञ्चालकूरुले नेपाल बैंकबाट ऋण लिन खोजेका थिए ।
नेपाल बैंकको न्यूरोडस्थित शाखाबाट ऋण दिन सञ्चालकहरू जोशी र लामिछानेका साथै राई समेत आवश्यक पर्ने भएपछि प्रक्रिया हटेको थियो ।त्यसक्रममा आफ्नो शंखमूलको घर धितो राख्ने कुरा भएको तर आफूले असहमति जनाएको छविलालको दाबी छ ।
उनले आफूहरूको कुराकानी भन्दै बयानमा भनेका छन्, ‘जीबी राई र रवि लामिछानेले घर धितो नराखे पनि पूँजी बढाउने कामको प्रक्रिया अघि बढिसकेको हुनाले असहयोग नगरिदिनुहोस्, हालसम्म तपाईंको कुनै लगानी भएको छैन र पूँजी बढाउँदा पनि तपाईंको एक पैसा लगानी हुने छैन भनि अनुरोध गरेको ।’
उनले बयानमा सहकारीबाट गोरखा मिडियामा रकम ल्याउने क्रममा जीबी राई र रवि लामिछाने संलग्न हुन सक्ने बताएका छन ।
उनले आफू असहमत भएपछि कम्पनीमा आफ्नो नाममा भएको सेयर जीबी राईको नाममा सार्न सहमति जनाएको भन्दै उनले ३ कात्तिक २०७७ मा आफू अमेरिका गएको बताएका छन् । अमेरिकाबाट फर्केपछि जीबी राईले आफूलाई केही माइन्युट देखाएर छुटेको हस्ताक्षर गर्न लगाएको र त्यसक्रममा किर्ते सही भएको थाह पाएको उनको दाबी छ ।