काठमाण्डु, २१ पुस– सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छन । कार्यालय जानका लागि आफूलाई घरमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिकाको बा. २ झ ३६४३ नम्बरको सरकारी स्कोरपीयो तोडफोड गरेको बताइएको छ ।
उपाध्यक्ष सिंहले पालिकाको स्कोरपीयोलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढोकाको सिसा फुटाउनुको साथै गाडीको विभिन्न भाग कुच्च्याएको चालक बाबुनाथ यादवले जानकारी दिएका छन ।
उक्त गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएका छन् । अध्यक्षले गाडी धेरै प्रयोग गर्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा दिन आनाकानी गर्दा उपाध्यक्ष आक्रोशित हुँदै आएको एक कर्मचारीले जानकारी दिएका छन ।
आज पनि उपाध्यक्षले गाडीलाई घरमा लिन बोलाउँदा नआएपछि गाउँपालिका अध्यक्षकै घरअगाडि रोकेएर राखेको गाडी उपाध्यक्षले तोडफोड गरेको बताइएको छ ।
गाउँपालिका अध्यक्ष सत्य नारायण यादवले भने उपाध्यक्षले ९ बजे नै गाडी बोलाएको र चालक जान ढिला हुँदा गाडी रोकिएकै ठाउँमा आएर तोडफोड गरेको बताए ।
उपाध्यक्षलाई सुविधा दिँदै आएपनि बखेडा मात्रै झिक्ने काम भएको उनको भनाइ छ । तर, आफूले उनलाई गाडी दिन आनाकानी गरेको विषय साँचो नभएको उनको दाबी छ ।